
उर्लाबारी । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र, नेपाल नगर समिति उर्लाबारी मोरङले ज्येष्ठ नागरिक र उनीहरूका संरक्षकबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। उर्लाबारी नगरपालिका ६ स्थित महारुद्र शिवालय प्राङ्गणमा असार ३ गते आयोजित सो कार्यक्रम नगरपालिकाको सहयोगमा सम्पन्न गरिएको हो।
कार्यक्रममा वडा नं. १, ५ र ६ का ३० जना ज्येष्ठ नागरिक र ३० जना संरक्षक (पालन-पोषण गर्ने) सहभागी थिए। सहभागी सबैलाई सम्मान गरिएको नगर समिति अध्यक्ष पदमबहादुर गौतमले जानकारी दिए।
कार्यक्रम सञ्चालन नगर सचिव अम्बिका प्रसाद गौतमले गरेका थिए भने उर्लाबारी वडा नं. ६ का अध्यक्ष चिन्तामणि पौडेल प्रमुख अतिथिको रूपमा सहभागी थिए। अध्यक्ष पौडेलले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न सबै संरक्षकलाई आग्रह गरे। उनले शारीरिक असक्तताका कारण ज्येष्ठ नागरिकले भत्ता लिन जान नसक्ने अवस्था आएमा वडा र बैंकका कर्मचारीमार्फत घरमै सेवा पुर्याउने व्यवस्था मिलाइएको पनि जानकारी दिए। “ज्येष्ठ नागरिक नै भगवान हुन्,” उनले भने, “उनीहरूको सम्मानका लागि वडामा वृद्धचौतारीको स्थापना र भेटघाट कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ।”
कार्यक्रममा नगर उपाध्यक्ष ज्ञानप्रसाद निरौलाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य स्पष्ट पारे।
अन्तरक्रिया सत्रमा केन्द्रीय अध्यक्ष कुलप्रसाद भट्टराईले सहजीकरण गर्दै ज्येष्ठ नागरिक र संरक्षकले भोग्ने समस्याबारे चर्चा गरे। उनले जिम्मेवारीबोध, आत्मसन्तुष्टि, सरकारी सेवा तथा अधिकारप्रति सचेतना आवश्यक रहेको बताए।
सेवानिवृत्त कर्मचारी तथा उर्लाबारी अध्यक्ष चुडामणि गौतमले मन्तव्य राख्दै पालकहरूलाई ज्येष्ठ नागरिकप्रतिको दायित्व र व्यवहारबारे अर्ती–उपदेश दिए।
त्यसैगरी, केन्द्रीय सदस्य घनश्याम भण्डारीले ज्येष्ठ नागरिकले आफूले प्राप्त संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए। उनले युवाहरूले ठूला पुस्ताको सम्मान र सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गरे।
कार्यक्रमले पुस्ता–पुस्ताबीच आत्मीयता विकास गर्न, सेवाको पहुँच विस्तार गर्न र सम्मानजनक जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।