
कानेपोखरी । कानेपोखरी गाउँपालिकाको १८औं गाउँसभाको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेको छ।
अध्यक्ष इङ्नामले प्रस्तुत गरेको नीति तथा कार्यक्रम १०४ बुँदामा समेटिएको छ। नीति तथा कार्यक्रम पाँच विशेष उद्देश्यमा केन्द्रित रहेको जनाइएको छ— दिगो र योजनाबद्ध पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी, कृषि उत्पादन र बजारीकरणमा जोड, सुशासन प्रवर्द्धन, र सूचना प्रविधिमा आधारित सेवा प्रवाह।
गाउँपालिकाले आगामी वर्षका लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको सिलिङ बजेट प्रस्ताव गरेको छ। बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयक भने आगामी दोस्रो बैठकमा पारित गरिने जनाइएको छ। अनुमानित बजेट तथा आर्थिक विधेयक उपाध्यक्ष भोला प्रसाद अधिकारीले सभामा प्रस्तुत गरेका थिए।
सभामा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा प्रतिवेदन समेत अध्यक्ष इङ्नामले पेश गरेकी थिइन्।
अर्को गाउँसभा असार २३ गते बस्ने गरी सभा अध्यक्ष इङ्नामले बैठक स्थगन गरेकी छन्।