उर्लाबारी । मदन स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीको आयोजनामा आज नेपाल कम्युनिष्ट आन्दोलनका महान् नेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा “नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको भूमिका र जनताको बहुदलीय जनवादको सान्दर्भिकता” विषयक विचार गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख गुरु प्रसाद बराल तथा प्रमुख विषय प्रशिक्षक नेकपा (एमाले) का उपमहासचिव एवं जबजका व्याख्याता प्रदिप कुमार ज्ञवाली रहेका थिए। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रोम ओलीले गरे।
कार्यक्रममा उपाध्यक्ष होमबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले मदन भण्डारी स्मृति प्रतिष्ठानका गतिविधि र महत्वबारे जानकारी गराएका थिए। सचिव अग्नि प्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।
मुख्य वक्ता ज्ञवालीले मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे चर्चा गर्दै भने, “मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद (जबज) लाई प्रतिपादन गरेर मार्क्सवादको रक्षा र विकास गर्ने कार्य गरे। उनले नेपालको आवश्यकता अनुसारको विचार निर्माण गरे।”
ज्ञवालीले स्मरण गरे, “मदन भण्डारीले सार्वजनिक जीवन मात्र साढे दुई वर्ष बिताए तापनि उनी नेपाली राजनीतिमा सर्वाधिक चर्चित नेता बने। उनका बारेमा अमेरिकी पत्रिकाले समेत ‘नेपालमा कार्ल मार्क्स जीवितै छन्’ भनेर लेखेको थियो।”
उनले मदन भण्डारीका रचनाहरूको सङ्ग्रह ‘मदन भण्डारीका रचना भाग ५’ अध्ययन गर्न सहभागीहरुलाई आग्रह गर्दै मदन भण्डारीले भनेको कथा “वासनाको मूल्य” भन्ने प्रसंग पनि उल्लेख गरे।
ज्ञवालीले सुगौली सन्धिपछि नेपाली समाजले एक नायकको खोजी गरेको समय मदन भण्डारी नायकको रूपमा उदाएको बताए। उनले मदन भण्डारीसँग जोडिएका अनेक संरचना र भावनालाई कदर गर्दै यस्तो कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद समेत दिए।
कार्यक्रममा राजनीतिक दलका नेता, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय