उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित जनज्योति कृषक समूहको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष पदम रिजालको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि वडा सदस्य मानबहादुर धिमाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै सदस्य धिमालले हालैको जेन–जी आन्दोलनका कारण भएको आगलागीले वडा कार्यालयमा क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा नगरपालिकाले कृषिमा हुने लगानी कटौती गर्न खोजेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो–‘कृषकका लागि छुट्याइएको अनुदान रकम कटौती हुन नदिन वडा कार्यालयले पहल गरेको छ, त्यसैले यो आर्थिक वर्षमा पनि कृषकहरूले अनुदान सुविधा पाउनेछन् ।’ समूहमा हाल ३० जना सदस्य रहेका छन् । बचत परिचालनमार्फत समूहले सदस्यहरूलाई आवश्यक समयमा आर्थिक सहयोग पु¥याउँदै आएको छ । सदस्यहरूले मासिक १२ प्रतिशत ब्याजदरमा ऋण लिन सक्ने व्यवस्था रहेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, चार वर्षअघि सानो रकमबाट सुरु गरिएको बचत कोषमा हाल १ लाख ५८ हजार रुपैयाँ संचित भएको छ । सभामा अध्यक्ष पदम रिजालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष निर्मला ढुंगानाको तर्फबाट सुरेशकुमार राउतले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अतिथि रेवतीरमण कोइराला र पत्रकार दुर्गाप्रसाद खतिवडाले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र दंगालले गर्नुभएको थियो । त्यस्तै, नव–निर्वाचित समितिमा पुनः पदम रिजाल अध्यक्ष निर्वाचित हुनुभएको छ । त्यस्तै, जयप्रकाश राउत उपाध्यक्ष, सुरेशकुमार राउत सचिव र ताराकुमारी पौडेल कोषाध्यक्ष चयन हुनुभएको छ । सदस्यहरूमा चन्द्रबहादुर कडेल, प्रकाश श्रेष्ठ, मनोरथ आचार्य, सिता ढुंगाना, र सितामाया श्रेष्ठ रहनुभएको छ । नयाँ नेतृत्वले समूहलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय