उर्लाबारी, उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा शनिबार एक भव्य समारोहबीच ‘जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८२, सिजन–२’ को ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न भएको छ।
जुनियर मिस्टर उर्लाबारीतर्फ उर्लाबारी–८ का आदित्य बराल विजेता बनेका छन्। उनी लालिगुरास सेकेन्डरी बोर्डिङ स्कूलमा अध्ययनरत छन्। यस्तै फर्स्ट रनर अप उर्लाबारी- ७ का मिङ्सो हाङ लिम्बु ,पशुपति आवासीय मावि र सेकेण्ड रनर अप उर्लाबारी- १ का समिप दाहाल, ब्रिलियन्ट बोर्डिङ स्कूल घोषित भए ।
विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
त्यस्तैगरी जुनियर मिस उर्लाबारीतर्फ उर्लाबारी -३ की सायुरी दाहाल, सप्तकोशी आवासीय मावि विजेता बनेकी छिन् । उनलाई सिजन–१ की विजेता मेट्रिना सुवेदीले मिस उर्लाबारीको ताज पहिराएकी थिइन्।
यस्तै फर्स्ट रनर अप उर्लाबारी-७ की सेविका थापा, पशुपति आवासीय मावि र सेकेण्ड रनर अप उर्लाबारी-६ की गृषिका कार्की, लालिगुरास अंग्रेजी मावि घोषित भएका छन्। उनीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
इटहरीस्थित ड्रिम मोडलिङ एजेन्सी प्रा.लि. र उर्लाबारीस्थित क्रिएटर आर्ट फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न सो प्रतियोगितामा उत्कृष्ट प्रतिभा, व्यक्तित्व र प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको थियो।
फाइनल राउण्डमा ४३ जना प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा भएको कार्यक्रम आकर्षक नृत्य, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरूले भरिपूर्ण बनेको थियो। आयोजककाअनुसार प्रतियोगिताको उद्देश्य बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलताको विकास गर्नु रहेको छ।
प्रतियोगिताको अन्तिम चरणमा जुनियर मिस्टरतर्फ ७ जना र जुनियर मिसतर्फ १० जना प्रतिस्पर्धी ‘टप’ सूचीमा पुगेका थिए। सो कार्यक्रममा ६ देखि १४ वर्ष उमेरका बालबालिका प्रतिस्पर्धी थिए ।
कार्यक्रमको निर्णायक मण्डलीमा शान्ति पाख्रिन, रोनक अग्रवाल, संगिना चौधरी, अस्मिता ओली श्रेष्ठ र नवित प्रधान रहेका थिए।
कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बु, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल, ७ नम्बर वडाका वडा सदस्य सुमन कार्की, युवा समाजसेवी नितम चौहान, पत्रकार घनश्याम भण्डारी, सरोज बस्नेत,दिलिप पोखरेल लगायतको आतिथ्यता रहेको थियो।
सो कार्यक्रमले उर्लाबारीका बालबालिकाको प्रतिभा, आत्मविश्वास र सृजनशीलता प्रदर्शनका लागि एक उत्कृष्ट मञ्च प्रदान गरेको कार्यक्रम संयोजक विकी ठकुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय