उर्लाबारी उद्योग वाणिज्य संघ को सभाहलमा उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेश को आयोजनामा बुधबार सम्पन्न भएको हो।

कार्यक्रममा कार्यालय प्रमुख भवानी घिमिरे सभापतिको रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन यामनाथ बराल ले गरेका थिए भने स्वागत मन्तव्य शंकर कार्की ले व्यक्त गरेका थिए। उद्योग अधिकृत गिरिजाप्रसाद पराजुली ले राजस्व, कार्यालय सेवा तथा समसामयिक विषयमा जानकारी दिएका थिए।

कार्यक्रममा विज्ञ चुडामणि न्यौपाने ले उद्योगसम्बन्धी प्रचलित कानुन, उद्योग दर्ता प्रक्रिया, व्यवसायिक सामाजिक जिम्मेवारी (CSR), उद्योग स्थानान्तरण, क्षमता तथा पुँजी वृद्धि लगायतका विषयमा प्रस्तुति दिएका थिए। साथै उद्योग ऐनका व्यवस्था र कानुनविपरीत कार्य गर्दा हुने कानुनी परिणामबारे पनि जानकारी गराइएको थियो।

अन्तरक्रियामा बोल्दै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवर्द्धन आवश्यक रहेको बताए। उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्न सके स्थानीय रोजगारी र आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा उद्योग दर्ता, अनुमति आवश्यक पर्ने उद्योगको वर्गीकरण, संघीय–प्रदेश सरकारबीचको कार्यक्षेत्र, उद्योग सञ्चालनका कानुनी प्रक्रिया, उत्पादन सुरु गर्ने समयसीमा, उद्योग स्थानान्तरण तथा CSR सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो।

विज्ञ न्यौपानेका अनुसार मझौला, ठूला तथा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगहरूले वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम व्यवसायिक सामाजिक जिम्मेवारी कार्यक्रमहरूमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

कार्यक्रममा उद्योगी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या, कानुनी जटिलता तथा सरकारी सेवासम्बन्धी जिज्ञासा राखेका थिए भने सम्बन्धित अधिकारीहरूले त्यसको जवाफ दिएका थिए। साथै संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई तथा वर्तमान महासचिव सम्झना आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय